काठमाडाैं, माघ २७ :

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब भवनको शनिबार आयोजित समारोहबीच उद्‍घाटन गरेका छन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन गरे । 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गरे । 

समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पु¥याउनुहुने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गरे । 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । प्रहरी सबल र सक्षम हुनुपर्ने बताउँदै नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए ।