जेरूसलेम, माघ २७ :

 प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जनालाई रिहा गरिरहँदा नेपालका विपिन जोशी भने परेनन् ।   युद्धविराम लागु भएपछिको पाँचौं चरणमा शनिबार तीन इजरायलीलाई रिहा गरेको हो ।

मुक्त हुनेहरुमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभी रहेका छन् । तीनै जनालाई रेडक्रसको जिम्मा लगाइएको छ । हमासले उनीहरूलाई सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएर गाजा लगेको थियो । मुक्त हुने तीनै जना सर्वसाधारण हुन् ।

हमासको सूचीमा विपिन रहेको तथ्य सार्वजनिक भए पनि उनी कहिले छुट्लान् भन्ने आम चासो बढ्दै गएको छ । उनको रिहाइका लागि नेपालले पहल गर्दै आएको छ ।

हमासले तीन जनालाई रिहा गरेसँगै इजरायलले पनि थप १८३ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।  समझौताअनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ । ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो ।