काठमाडौं, माघ २७ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्‌बाट पारित गर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताए । उनले सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् भएको बताए । उनले शासन प्रणाली बदलिए पनि शासनको शैली अझै बदल्न नसकेको बताए । उनले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको बताए ।

‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ । राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ । सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ । सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् हो । यो संसद्‌ले सही ढंगले फिडब्याक दिने कर्म गर्‍यो भने, यो बाहिर रहेको संसद्‌मा सही प्रश्नमा सही ढंगले खबरदारी गर्‍यो भने भित्र रहेको संसद्‌ले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ,’ उनले भने, ‘शासन प्रणाली बदल्यौं तर शासनको शैली अझै बदल्न सकेका छैनौं । यो विधेयक आउँदै गर्दा आमसरोकारवालाहरुसँग छलफल हुनुपर्थ्यो । तर सरकारमै रहेको मुख्य दुई दलको बीचमा पनि गहन संवाद भएन ।’

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरुले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने धारणा राखे ।