काठमाडौँ, माघ २७ :

नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज भएको मतदानको मतगणना सुरु भएको छ ।

परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जनाको हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्को चयन गर्नुपर्ने व्यवस्था अनुसार बागमती प्रदेश पार्षद्का लागि आजै मतदान भएको थियो ।

बागमती प्रदेश निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बागमती प्रदेश पार्षद्का लागि चार हजार एक सय ७९ मत खसेको छ । बागमती प्रदेशमा आठ हजार दुई सय मतदाता रहेका छन् ।

सातै प्रदेशमा एक/ एक पार्षद् छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् । परिषद्को बागमती प्रदेश पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनका निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतका  रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयका डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् ।