
दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो ।
गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा जलाशय बनेको थियो । अहिले सोही जलाशय मानिसको मात्र नभइ स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताए ।
यहाँ आगुन्तुक चरा आउने गरे पनि यसको संरक्षणका लागि सरकारीस्तरबाट पनि काम गर्न आवश्यक रहेको बताए ।
दाङका जलाशय, नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आउनुभएका लालमणि रेग्मीले कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभ लाग्दो रहेको बताए ।
नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गरेका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन् ।