
चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ । बोर्डले आइतबार सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘इ–बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीको सपना छिट्टै पूरा हुने जानकारी दिए । उनले भने, “नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्ने छ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढङ्गको सुटिङस्थल प्रदान गर्नेछ, त्यसकारण यो सम्पूर्ण चलचित्रकर्मीको पर्खाइको एक सपना हो ।”
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन । स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको अध्यक्ष डिसीले बताए ।
उनले २०८२ साल वैशाख १ गतेदेखि ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने तयारी भइरहेको जानकारी दिए । यसले चलचित्र भवनमा भएको व्यापार छिटोभन्दा छोटो चलचित्र निर्मातासम्म पुर्याउन मद्दत गर्छ ।