
प्रधानमन्त्री केपी ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक चरित्रविपरीत हुने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ मूल समारोह समिति गठनका लागि आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशमा सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिन नै प्रजातन्त्र दिवस भएको उल्लेख गरे । यो दिवस केवल औपचारिकतामा सीमित हुन नहुने भन्दै ओलीले जनताको सहभागिता सुनिश्चित गरी भव्यताका साथ मनाउनुपर्नेमा जोड दिए ।
‘मुलुकका लागि यो ऐतिहासिक परिवर्तनको दिन हो । हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउने तर प्रजातन्त्र दिवसलाई स्वीकार नगर्ने प्रवृत्ति लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले निरंकुश शासन र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको यस ऐतिहासिक दिनलाई जनस्तरमा उत्सवका रूपमा मनाउन आह्वान गरे ।
बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार मूल समारोह समिति तथा विभिन्न उपसमितिहरू गठन गरी विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । मूल समारोह समितिको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् भने उपप्रधानमन्त्री, मन्त्रीहरू, काठमाडौँ महानगरका प्रमुख, नेपाल सरकारका उच्च अधिकारीहरू, सेना, प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरू एवं उपत्यकाका नगरप्रमुखहरू रहनेछन् । सातै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समारोह समिति गठन गरी दिवस मनाइनेछ ।
फागुन ७ गते टुँडिखेलस्थित नेपाली सैनिक मञ्चमा मूल समारोह समितिको आयोजना भब्य कार्यक्रम हुने जनाएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।