
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा आइतबार उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताए । नागरिकले तत्काल नतिजा खोज्ने गरेको भए पनि त्यसका लागि धैर्यता राख्नुपर्ने उनको भनाइ छ । उनले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभई विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताए ।
‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदै छ । हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खै प्रधानमन्त्री बनाउन सकेको ? यसले खै संसद्लाई नियन्त्रण गर्न सकेको, यसले खै कानुन बनाउन सकेको भन्ने एकैचोटी हामी आशा गरिदिन्छौँ । धैर्यता राख्नु आवश्यक छ,’ उनले भने, ‘जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैर्यता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ । हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुने कुरा होइन ।’
अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए । पुराना राजनीतिक दलहरु पनि रातारात नआएको उनको भनाइ छ ।