काठमाडौँ, माघ २९ :

ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत पक्षले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने भएको छ ।

आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको टोलीले सरकारद्वारा गठित वार्ताटोलीका कर्मचारीसँग अब वार्ता नगर्ने जनाउँदै गृहमन्त्री लेखकसँग छलफल हुने जनाएको हो ।

केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले वार्ता निष्कर्षमा नपुगेको र वार्ताका माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेको जानकारी दिए ।

आइतबारको वार्तापछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न पनि आग्रह गरेको छ ।