
जङ्गली बँदेल गाउँ/ नगरका बस्तीमा पसेर बालीमा क्षति पुर्याउन थालेपछी जिल्लाका किसान चिन्तित भएका छन् ।
आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ । “हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन/ चार पुस्ता देखिन्छन्” जलेश्वर- ५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, “यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन् , अनि किन सम्झुन् वनजङ्गल १” उनले सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टी र खैरासम्मका आफ्ना वरपरका बस्ती नजिक अब झुण्ड (समूह) मा बँदेलको स्थायी बसोबास बढेको बताए ।
जिल्लाको भारतसँग सीमा जोडिने पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरमम्मै बँदेल बाक्लै बस्छन् । अझ नदीउकास क्षेत्रका काँसका झाडी भएका ठाउँमा त झन बढी बँदेल देखिने गरेका खैरवनीका बासिन्दा कौशीलाल यादव बताउछन् । यतामात्र नभएर सीमापारीका छिमेकका भारतीय बस्तीमा पनि यिनको उधुम देखिने गरेको उनको भनाइ छ ।
बर्दिबासदेखि १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका सबै बस्तीमा बँदेलको आतङ्क छ । उखु नकाटिउञ्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि नजिककै अर्कोतिर बास सारेर बस्ने गरेका भङ्गाहा- ४ का सामाजिक कार्यकर्ता ६५ वर्षीय मुकुन्द दाहालले बताए । बँदेलको आतङ्कले घाँसपात गर्न , खेतबारी हेरविचार गर्न र डुलफिरमा निस्कन डरमर्दो भएको दाहालको भनाइ छ ।
पाँच/ सात वर्षअघि भर्खर वनबाट झरेका बेलामा जस्तो आक्रमण भने पछिल्लो बँदेल पुस्ताले नगर्ने गरेको दाहालको अनुभव छ ।