कैलाली, माघ २९ :

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका ३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि किशोरी मासु लिएर विकको पसलमा पुगेकी थिइन् ।

सोही क्रममा कोठामा लगेर जबरजस्तीकरणी गरेको पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताएका छन् । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाइएको छ । 

माघ २७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।