
मन्त्रिपरिषद्को बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा अध्यादेशहरुलाई कसरी पारित गराउने भन्ने लगायत सरकारको नियमित काम कारबाहीका बारेमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नपुग्दा सरकारले ल्याएका अध्यादेशहरु निर्णयार्थ पेस गर्न सकिरहेको छैन । अध्यादेश पारित गर्न सत्तारूढ दललाई प्रतिनिधिसभामा कुनै समस्या नभए पनि राष्ट्रिय सभामा भने समस्या देखिएको छ ।
प्रतिनिधिसभा बैठकबाट अध्यादेश बहुमतले पारित भए पनि राष्ट्रिय सभा बैठकबाट पारित हुन साना दलको समर्थन आवश्यक छ । जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहितका दलको साथ आवश्यक छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन आवश्यक छ । राष्ट्रिय सभामा सत्ता पक्षका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् ।
विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी २६ जना छन् । जसपाका ३ सांसद रहेका छन् । नेकपा राष्ट्रिय एकता अभियानका १ (वामदेव गौतम) सांसद छन् । राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्नका लागि जसपाका ३ सांसद निर्णायक देखिन्छ ।तसर्थ अध्यादेशका लागि सत्तारूढ कांग्रेस र एमालेले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउँदै छन् ।