काठमाडौं, माघ २९ :

अर्बिट इनर्जी लिमिटेडको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री-प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौता-पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदीप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभाको सभापोखरी गाउँपालिकास्थित सभाखोलाको पानी सदुपयोग गरी सभाखोला बी २१.५ मेगावाट र सभाखोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोबेल इनर्जी प्राइभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरी अबको १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।