
नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिक साधारणसभा गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सोमबार वीरगन्जमा भएको साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आव ०८०/८१ को वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गरिएको छ ।
लेखापरीक्षकको प्रतिवेदनसहितको आव ०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरण छलफल गरी स्वीकृत गरिएको छ । सभाले आव ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । साधारणसभाले आव ०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पाँच सय ५४ रुपैयाँको २१ दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार नौ सय ५९ रुपैयाँ लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य पाँच नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
अध्यक्ष संघईले जीवन बिमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीबीच अझै नयाँ उचाइमा अगाडि बढाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहककेन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए ।
साधारणसभामा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव ०८०/८१ मा आएका चुनौतीलाई अवसरमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाबारे जानकारी दिए ।
२०८१ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ छ । जीवन बिमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब रुपैयाँ छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल १९५ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।
साथै कम्पनीले हालसम्म २८८ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । ८४ अर्ब रुपैयाँ जम्मा दाबी भुक्तानी गरेको छ । ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।