काठमाडौँ, माघ ३० :

नेपालमा यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) का लागि पाँच करोड रुपैयाँ बढीको गुलाब खपत हुने भएको छ ।

प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसमा पाँच करोड १० लाख बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रणय दिवसका लागि भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको जानकारी दिए । बजारमा प्रतिस्टिम गुलाबको मूल्य न्यूनतम ९० देखि एक सय रुपैयासम्म रहेको उनको बताए ।

हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्दै गए पनि मुलुकमा पर्याप्त उत्पादन नहुँदा बर्सेनि आयात गर्नु परेको श्रेष्ठले जानकारी दिए ।

एसोसिएसनका अनुसार प्रणय दिवसमा काठमाडौँ उपत्यकामा दुई लाख ५५ हजार स्टिम र एक लाख ७० हजार स्टिम गुलाब उपत्यकाबाहिर खपत हुने गर्छ । 

नेपालमा गुलाब फूलको व्यावसायिक खेती चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही जिल्लामा हुने गरेको छ । फेब्रुअरी महिनामा नेपालमा जाडो सिजन नै रहने भएकाले गुलाब फूलको उत्पादन कम हुने हुँदा आन्तरिक माग पूरा गर्न व्यवसायीले भारतबाट आयात गर्ने गरेका छन् । 

प्रणय दिवस आउनु एक साता अघिदेखिनै बजारमा गुलाबको फूलको कारोबार बढ्दै गएको व्यवसायी बताउँछन्‌ । भ्यालेनटाइन डे १४ फेब्रुअरीमा मनाइदै छ ।