
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (CPI) का अनुसार, नेपालको स्थिति पछिल्लो वर्षको तुलनामा खस्किएको छ। नेपाल केही मुलुकहरूको स्थिति खस्किएपछि एक स्थान अगाडि बढेको हो।
गत वर्ष नेपाल ३५ अंकसँग १०८ औं स्थानमा रहेको थियो भने यस वर्ष ३४ अंक प्राप्त गरेर १०७ औं स्थानमा पुगेको छ।यसले भ्रष्टाचारविरुद्ध अझ प्रभावकारी कदम चाल्न आवश्यकतालाई जनाउँछ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार वर्तमान विश्वव्यापी सूचकांकको औसत अंक ४३ रहेको र यसको आधारमा ५० अंकभन्दा कम अंक ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मानिन्छ। यो हेर्दा नेपालको स्थिति सुधारोन्मुख छैन।
आयात-निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयका क्षेत्रमा भ्रष्टाचारको व्यापकता बढेको देखिएपछि नेपालको सूचकांक थोरै घटेको छ।यसले नेपालको भ्रष्टाचारको अवस्था अझै चुनौतीपूर्ण रहेको प्रष्ट हुन्छ । साथै सरकार र जनताका लागि सुधारका प्रयासलाई थप प्राथमिकता दिनुपर्ने देखिन्छ।
टीआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (CPI) मा १८० देशहरू समावेश छन्। डेनमार्क ९० अंकका साथ ७ वर्षदेखि लगातार सबैभन्दा कम भ्रष्टाचार हुने देशको रूपमा अवस्थित छ। साउथ सुडान ८ अंकका साथ सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रूपमा सूचीबद्ध भएको छ।
सूचकांक १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ। पछिल्लो ५ वर्षमा ७ देशहरूले उल्लेखनीय सुधार देखाएका छन्। दक्षिण एशियामा भुटानले ७२ अंक प्राप्त गरेको छ भने अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ। चीनले ४३ अंक प्राप्त गरेको छ।