.jpg)
नेपाल सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा स्थित धौवादी फलाम खानीलाई आफ्नो 'ड्रिम प्रोजेक्ट'का रूपमा अघि बढाउने तयारी गरेको छ।
यस परियोजनाले अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानिय बासिन्दा, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरूले यसलाई छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन्।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे र नवलपुर क्षेत्रका पूर्वसांसद तिलक महतले खानी सञ्चालनमा स्थानीय सहयोग र सरकारको द्रुत पहलको आवश्यकता रहेको बताएका छन्। गण्डकी प्रदेशका पूर्वमन्त्री रोशन गाहाले यस खानीको उत्खननलाई देशको समृद्धिको लागि अनिवार्य ठानेका छन्।
सम्भावनामा आधारित अध्ययन पूरा भइसकेपछि, प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजनामा विशेष चासो व्यक्त गरेका छन्। उद्योगमन्त्री दामोदर भण्डारीले खानी उत्खननको प्रक्रिया छिटो अघि बढाउन निजी क्षेत्रको सहभागिता बढाउने तयारी गरेको जानकारी दिएका छन्। यसका लागि सार्वजनिक–निजी साझेदारी मोडेल अपनाउने कुरा भएको छ।
यो खानी संचालनले नेपाललाई फलाममा आत्मनिर्भर बनाउन र देशको व्यापार घाटा घटाउन मद्दत पुर्याउने अनुमान गरिएको छ। यसले रोजगारको अवसर सिर्जना गर्दै स्थानिय विकासमा ठूलो योगदान पुर्याउने पनि अपेक्षा गरिएको छ।