
काठमाडौँको बूढानीलकण्ठ गैह्रीगाउँस्थित दुईवटा घर भाडामा लिएर अनलाइनमार्फत सट्टेबाजी गर्दै आएका २३ जना भारतीयलाई पक्राउ गरिएको छ ।
उनीहरुले एक वर्षमा अवैध रुपमा ३ अर्ब बढीको कारोबार गरेको विवरण प्रहरीले फेला परेको छ। उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको पछि कारोबारको विवरण खुलेको हो।
साथै उनीहरूको मोबाइलमा ८६ लाख ९१ हजार ९७१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबारसमेत भएको अनुसन्धानबाट खुलेको छ।
एउटा घर पूरै भाडामा लिएर उनीहरूले एक वर्षदेखि अनलाइन सट्टाबाजी, क्रिप्टो लगायत गेमिङ साइटको बारेमा एजेण्टहरूको सम्पर्क नम्बरसहितको विवरण राखेर फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा विज्ञापन राखी प्रचार-प्रसार गर्ने गरेको गराएको प्रहरीको दाबी छ।।
आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरूले कारोबार गरिरहेको उक्त घरमा आइतबार बेलुकी जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको थियो।
अनलाइन वेटिङ साइटमार्फत ठूलो मात्रामा रकम हारजित हुने गरी सट्टेबाजी खेल्ने खेलाउने कार्य गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।पक्राउ परेका भारतीयका ८८ वटा मोबाइल, १० वटा ल्यापटप, भारतीय सिम ५०, भारतीय एटीएम, विभिन्न व्यक्तिको आधार कार्ड १५ थान र हिसाब-किताब विवरण भएको डायरी ७ वटा बरामद भएको छ।
यसैबीच, नेपाल प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४१ वर्षीय नरेन्द्र देउला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी उपरीक्षक) अपिलराज बोहोराले बताए । उनले देउला यसअघि पनि पाँच चोरी मुद्दा र एउटा ज्यान मुद्दामा संलग्न रहेको बुझिएको जनाए । देउला कतिपय मुद्दामा कारागार सजाय भोगेर र कतिपयमा धरौटीमा रिहा भइको पाइएको छ । देउलाबाट करिब ११ लाख २३ हजार बराबरको सुनका सामग्री बरामद गरिएको पनि बोहोराले जनाए ।
त्यस्तै काठमाडौंको कुमारीगालमा चोरीको मोबाइल लिन दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रयोग गरी २३ वर्षीय संघर्ष कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । हत्या प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय युनिक लामा भन्ने न्युतु शेर्पा, शेर्पालाई यसअघि पनि अभद्र मुद्दामा पाँचपटक पक्राउ गरिसकेको छ । त्यस्तै पक्राउ पर्ने अर्का व्यक्ति विशाल तामाङ र १९ वर्षीय क्षितिज कार्की रहेको बोहोराले जनाए । घटनामा संलग्न दुई समूहका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनको भनाइ छ । एकजना अझै फरार रहेका छ ।
माघ १५ गतेदेखि अहिलेसम्म तीन हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानुनको दायरामा ल्याएको पनि प्रवक्ता बोहोराले जानकारी दिए ।