
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले एउटा कानुनले फरक-फरक व्यवहार हुने गरेको भन्दै अब दुईवटा कानुन बनाउन जरुरी देखिएको बताए । उनले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ भन्ने कुरा प्रमाणित भएको बताए ।
शाहीले बोलेकै आधारमा सर्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाए । ‘म अनुरोध गर्न चाहन्छु, कानुन दुईवटा बनाउनुस् अब । एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानुन बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ,’ उनले भने, ‘माननीय मन्त्रीजस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छुभन्दा मन्त्री पद भिराएर गल्ली-गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?’
उनले मन्त्रीजस्तो पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छुभन्दा मन्त्री पद भिराएर हिँडाउने गरेको भन्दै असन्तुष्टि जनाए ।