काठमाडौं, माघ ३० :

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ ।

प्रतिनिधिसभा बैठकमा मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताए ।

उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यहरुले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधबार दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए ।

संघीय संसद्‌को बैठक नचलेको दिनमा विषयगत समितिका काम-कारबाहीहरु अघि बढाउन समितिका सभापति तथा सदस्यहरुको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।