काठमाडौं, फागुन १ :

अमेरिकामा अवैध रुपमा बसोबास गरेका २० जना नेपालीलाई फिर्ता पठाइएको छ। भिसा बिना यात्रा गरेको र 'गलत मनसाय' राखेको भन्दै अमेरिकाले उनीहरूलाई देश निकाला गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कार्यालयकी प्रवक्ता सीता परियारका अनुसार २० जना नेपालीमध्ये १ महिला र १९ जना पुरुष छन्। उनीहरुको परिचय भने खुलाइएको छैन । यी नागरिकहरू सामान्य उडानबाट नेपाल आएका हुन्।

डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी देखि फेब्रुअरी ११ गतेसम्म २० जना नेपालीहरु स्वदेश फिर्ता गरिएको अध्यागमन कार्यालयको तथ्यांक छ ।

ट्रम्पले पदभार ग्रहण गरेपछि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। अमेरिकी अध्यागमन कार्यालयले १,३६५ नेपालीहरू गैरकानूनी रूपमा अमेरिका आएको तथ्य सार्वजनिक गरेको छ।

अमेरिकाले हाल विभिन्न देशका नागरिकहरूलाई हवाई मार्गबाट ​​फिर्ता पठाउँदै छ। ट्रम्पले सत्ता सम्हालेको केही दिनमा नै करिब २ सय अवैध भारतीय आप्रवासीलाई फिर्ता पठाइएको थियो । ट्रम्पले आफ्नो कडा आप्रवासन नीति अन्तर्गत अमेरिकाबाट १४ लाख आप्रवासीहरूलाई देश निकाला गर्ने योजना बनाएका छन्।