
रोल्पा, नवलपरासी र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका २, लामीडाँडास्थित सडकमा रुन्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.१ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा अटोमा चढेका रुन्टीगढी गाउँपालिका २, धारापानी बस्ने ६५ वर्षीय इन्द्र घर्तीको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटो चालकसमेत २ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
यस्तै नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका १, मिलनचोकस्थित सडकमा बा.५ख ६२५२ नम्बरको बसले ना.४३प ५३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिएको छ । बसको ठक्करबाट मोटरसाइकल चालक गैंडाकोट १ बस्ने पर्सा धोबीनी गाउँपालिका ३ घर भएका ३० वर्षीय अर्जुन महतोको मृत्यु भएको छ ।
दुर्घटनामा सख्त घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको रत्ननगर नगरपालिका ५, जनकल्याण चोकस्थित सडकमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका ५ बस्ने २८ वर्षीय आलोक महतोको मृत्यु भएको छ ।
दुर्घटनामा सख्त घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।