.jpg)
काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ। पाइप फुटेपछि आसपासका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । विशेष अदालत, काठमाडौं जिल्ला अदालत, वन परिसर लगायतका महत्त्वपूर्ण सरकारी कार्यालयहरु डुबानमा परेका छन्। कार्यालय नै डुबानमा परेपछि कर्मचारीहरुलाई बाहिर निस्कन समेत समस्या भएको थियो ।
मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीका अनुसार नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा काठमाडौं जिल्ला अदालतको अगाडि मेलम्चीको पाइप फुटेको हो । पाइप फुट्नाले काठमाडौंको खानेपानी आपूर्ति प्रणालीमा समेत असर परेको छ।
पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम (वास आउट) भइरहेको छ ।नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली घटनास्थलमा सक्रिय रूपले खटिएका छन्। बबरमहल क्षेत्रमा पानीको निकासी र पुनः व्यवस्थित गर्ने कार्य जारी रहेको छ।
मुख्य सडकमा फुटेको पाइपलाइनको मर्मत कार्यलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउनु पर्छ। दैनिक सयौं सवारी साधन आवतजावत गर्ने सडकलाई छिटो मर्मत नगरिदा ट्राफिक जामको स्थिति आउन सक्छ ।
राजधानीका सडकमा बिछयाउँदा खानेपानीको पाइप धेरै जसो स्थानमा लिक हुने समस्या छ। खानेपानीको चुहावट हुने यस्ता घटना हुन नदिन सुरुवात देखिनै ध्यान दिन आवश्यक छ। सम्बन्धित इन्जिनियरहरुले यस्ता कामहरु कामदारको भरमा छाड्दा यस्तो समस्या देखिने गरेको छ ।
तस्बिर: दिलमन्यु सिल्वाल/ सक्रिय न्युज