
काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना भएको छ । शंकरापुर नगरपालिका-५ मा दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
चाबहिलस्थित एसएस एकेडेमीको बस मोडबाट पल्टिँदा उक्त दुर्घटना भएको हो। प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले दिएको जानकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको नाम र थप विवरण खुलाइएको छैन
नगरकोटको पिकनिक खाएर फर्किंदै गरेको दुईवटा बस मध्ये एउटा दुर्घटनामा परेको हो। दुईवटा बसमा विद्यार्थी, शिक्षक शिक्षिका र कर्मचारी गरी ९२ जना सवार थिए । घटनास्थलमा तत्काल प्रहरी र स्थानीयवासी पुगेर उद्धार गरेका छन्।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ।के कारण दुर्घटना भयो भन्नेबारेमा खुलेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ।
केही दिनअघि काठमाडौंको दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा पनि स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।