
सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै ६ वर्ष कैद सजाय तोकेको छ । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।
पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यस्तै पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ ।
यस्तै महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ । माडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ ।
अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ ।
सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैंया असुल्नुपर्ने फैसला गरेको छ । भने अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।
अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको थियो ।