
नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
‘पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो उनले भने, करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।’
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिएका छन् । बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि त्यस क्षेत्र जलमग्न भएको थियो भने विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।
पाइप फुटेको स्थान वरपर सफा गरेर रातिबाटै मर्मतको काम सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र आसपासका सरकारी कार्यालयहरु डुबानमा परेका थिए।
हेरौं थप तस्बिरहरु:
तस्बिर : दिलमन्यु सिल्वाल/सक्रिय न्युज