
लागुऔषधसहित प्रहरीले विभिन्न जिल्लाबाट १४ जनालाई पक्राउ गरेको छ ।
डोटीको अमरगढी नगरपालिका १, स्याउले बजारबाट चरेशजस्तो देखिने पदार्थ ७८४ ग्रामसहित बझाङ छबिसपाथीभेरा गाउँपालिका ३ का ७१ वर्षीय चन्द्रदेव जैशी पक्राउ परेका छन् । उनललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट खटिएको प्रहरीले ना.७ख ४०९ नम्बरको बसमा यात्रारत उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बाट ४ किलो अफिम, ७ किलो २ सय ग्राम गाँजा, २० हजार रुपैयाँ नगद र मोबाइल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १३, डमरपुर बस्ने २२ वर्षीय सञ्जय मोक्तान र धादिङ गजुरी गाउँपालिका ३, नाङ्गी टोल बस्ने २९ वर्षीय सुनबहादुर थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बाट ब्राउनसुगर ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १७, बाबुचोक बस्ने २५ वर्षीय अनिश विक र सोही उपमहानगरपालिका ८, कमाने बस्ने २२ वर्षीय दिवाकर दाहाल छन् । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.३-००६ प ००७६ नम्बरको स्कुटरमा यात्रारत उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बाट अफिमजस्तो देखिने पदार्थ करिब ५ किलोसहित मकवानपुर कैलाश गाउँपालिका ६, गोगने बस्ने २५ वर्षीय भुवनसिंह थिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा.३६प २७१४ नम्बरको मोटरसाइकलमा चढेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका १७, मटेरुवा चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्रामसहित बेलबारी नगरपालिका ४ बस्ने ३२ वर्षीय विजय राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलमा चढेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२, नेवारेबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय हिमालय सापकोटासमेत दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले हिमालयको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका ३, ब्यारेलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ६३० मिलिग्रामसहित दुई जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १० बस्ने २१ वर्षीय विवश चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका ७ बस्ने २५ वर्षीय धीरज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साको बहुदरमाई नगरपालिका १, विश्रामपुर टोलबाट ५ सय ग्राम गाँजासहित भारत मोतिहारी ग्राम पञ्चायत रक्सौल बस्ने २६ वर्षीय रम बाबु माझीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५, ड्राइभरडाँडाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका ८, कमाने बस्ने २३ वर्षीय निखिल तिमल्सिना र २८ वर्षीय भीमसेन पाण्डे छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको प्र.२-०३-०२१ प ६३०८ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।