काठमाडौं, फागुन २ :

काठमाडौंको ठमेलमा प्रहरीमाथि हातपात गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन्। जोशीलाई नपक्रेको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। उनी सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता हुन् ।

गत माघ २४ गते ठमेलस्थित सडकमै हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको क्वीक रेस्पोन्स टीमले उनीहरूलाई भेटेर सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। त्यसबेला उनीहरुले क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

यसअघि पक्राउ परेका ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। दुवै जनालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।