काठमाडौं, फागुन ३ :

नियमित कारोबारका लागि सातामा पाँच कार्य दिन नै खुला रहेको नेप्से यो साता औसत कारोबारमै बितेको छ । कारोबार खुलेको मध्ये तेस्रो र चौथो दिन सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक बाँकी तीन कार्यदिन लगातार ओरालो लागेको थियो ।

यही कारण पनि हुन सक्छ, यो साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि खासै उत्साहप्रद हुन सकेन । सातामा नेप्से परिसूचक २६ सय ७८ दशमलव ४७ अंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ४९ दशमलव ८८ अंकमा सीमित हुन पुगेको छ ।

यो साता ३२२ कम्पनीका तीन लाख ९२ हजार नौ सय २६ पटकको कारोबारमा सात करोड ५६ लाख ६३ हजार तीन सय ४४ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ३९ अर्ब २४ करोड ४३ लाख २२ हजार एक सय ६९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो । गत साता धितोपत्र बजारमा ५१ अर्ब ९५ करोड ७१ लाख १२ हजार ४३ रुपैयाँको सेयर कारोबार भएको थियो । अघिल्लो साता ३३० कम्पनीको पाँच लाख १६ हजार एक सय ११ पटकको कारोबारमा १० करोड ३३ लाख ९८ हजार ६८ कित्ता सेयर खरिद-बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

यो साता पहिलो कारोबार दिन आइतबार नेप्से ११ दशमलव ४९ अंकले घटेर २६ सय ८८ दशमलव ३१ सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले घटेर चार सय ५२ दशमलव २१ अंकमा सीमित भएको थियो । दोस्रो दिन पनि नेप्से १० दशमलव ९८ अंकले घटेर २६ सय ७७ दशमलव ३२ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर चार सय ५० दशमलव ६५ अंकमा सीमित भएको थियो ।

तेस्रो दिन भने नेप्से ६ दशमलव ५४ अंकले बढेर २६ सय ८३ दशमलव ८६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ५० अंकले घटेर चार सय ५० दशमलव १५ अंकमा खुम्चिएको थियो । चौथो दिन पनि नेप्से एक दशमलव ८६ अंकले बढेर २६ सय ८५ दशमलव ७३ अंकमा पुग्न सफल भएकामा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २५ अंकले बढेर चार सय ५० दशमलव ४० अंकमा पुग्न सफल भएको थियो ।

पाँचौं दिन भने नेप्से सात दशमलव २६ अंकले घटेर २६ सय ७८ दशमलव ४७ अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ८८ अंकमा खुम्चिएको थियो ।

यो साता एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड आदिको बढी रकम कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी आदिको बढीको संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।