
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् ।
नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित नेपालका लागि आईसीटी आधारित उद्यमशिलता : आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तर्क्रियामा उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्धन गर्ने हिसाबले ल्याएको बताए ।
उनले अध्यादेशको विरोध भयो भनेर कोसिस असफल नहुने बताए । दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै उनले पारित गर्ने अनेक विकल्प रहेको पनि दाबी गरे । विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई राज्यको कानुनमा ढाल्ने पोखरेलले बताए । अध्यादेश आफैँमा कानुन भएको र कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने महासचिव पोखरेलको भनाइ छ ।
‘अहिले सरकारले जुन हिसाबले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोसिस गरेको छ । अध्यादेशको विरोध भयो भन्ने बित्तिकै त्यो कोसिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकि त्यो कोसिस प्रमुख पार्टीहरुले सचेततापूर्वक ल्याएको काम हो । त्यस अर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ,’ उनले भने, ‘कसैले विरोध गर्यो भनेर त्यो विरोधले रोकिनेवाला छैन । अनेक विकल्पहरु छन् ।’
महासचिव पोखरेलले सरकारले आईसीटीबाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको जनाए ।