काठमाडौं, फागुन ३ :

कृषि, तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको सातौं नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताए । उनले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्त्वपूर्ण जानकारी दिने विश्वास राखेको बताए ।

उनले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने भन्दै सामान्यभन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउन सकिने धारणा राखे ।

प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको अधिकारीको भनाइ छ । मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामीण क्षेत्रमा पनि गर्न जरुरी रहेको धारणा राखे ।

‘अहिले हामीले गोरु पालेर र जोतेर मात्रै हुने रहेनछ । यान्त्रीकरणको विशेष विकास भइसक्यो । हामीले सामान्यभन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके हामीले आत्मनिर्भरताका लागि मात्रै नभई व्यावसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा हामी आफैँ पुग्नसक्छौँ,’ उनले भने, ‘प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य छ । यो एक्स्पोले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुगेको छ । मन्त्रालयबाट के कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि मन्त्रालय तयार छ । यस्तो एक्स्पो ग्रामीण तह, सातै प्रदेशमा लैजानसके झनै फाइदा हुनेछ ।’

प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
यो पनि...
भृकुटीमण्डपमा कृषिसम्बन्धी मेला [तस्बिरसहित]