काठमाडौं, फागुन ३ :

प्रहरीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट १९ जनालाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका ९, पृथ्वीचोकबाट प्रहरीले लागुऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका २, बायाँटारी बस्ने ३६ वर्षीय नवीन खत्री, महोत्तरी बर्दिबास नगरपालिका ८, घर भई कास्की पोखरा महानगरपालिका ९, पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी र २१ वर्षीय रोहित तामाङ छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रगर नगरपालिका १२, तीनकुने चोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० बस्ने ३८ वर्षीय दुर्ग नेपाली र सोही नगरपालिका १२ बस्ने ३५ वर्षीय विजय कालुङ छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका १, ज्यामिरे बस्ने २७ वर्षीय सुवास चौधरीलाई अवैध लागुऔषध गाँजा करिब ३ किलोग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल २७३ ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ८ हजार रुपैयाँ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चितवनको रत्ननगर नगरपालिका १२, बालदेवी टोलबाट चरेसजस्तो देखिने पदार्थ ८ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुवास पोखरेल र सोही नगरपालिका १३ बस्ने २८ वर्षीय सन्तोष घिमिरे छन् ।

प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००२ प ५५४३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका १५, एक नम्बर ढाँटबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय ८० मिलिग्रामसहित झापा बिर्तामोड ६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिका १०, भकुन्डेबाट नियन्त्रित लागुऔषध नोर्फिन ४९ एम्पुल, फेनारगन ६४ एम्पुल र डाइजेपाम ३४ एम्पुलसहित कास्की पोखरा महानगरपालिका २१ बस्ने २४ वर्षीय शिवजी तिवारीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६, त्रिशूले चोकबाट करिब १ किलो गाँजासहित हेटौंडा १३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले उनलाई गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५, रातोमाटेबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका १, कुलेखानी बस्ने ३४ वर्षीय सुदीप थापा मगर र काठमाडौं चन्द्रागिरि नगरपालिका ५, वनस्थली बस्ने २६ वर्षीय प्रशान्त घले छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगन्जबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.४२प ८३१७ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिराहको गोलबजार नगरपालिका ४ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम १९० मिलिग्रामसहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका ७, दशई महाजन टोलका २० वर्षीय पंकज मण्डल, सोही नगरपालिका ६ ग्रामीण टोल बस्ने २८ वर्षीय अरविन्दसिंह दनुवार र सोही नगरपालिका ६ बस्ने २६ वर्षीय रविन मुखिया छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.३प ६३४४ नम्बरको मोटरसाइकलमा यात्रारत उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका १३, राजपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ६२० मिलिग्रामसहित गोदावरी नगरपालिका ५ बस्ने २६ वर्षीय मनोज रानालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका १२, सी गाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी १२ बस्ने २३ वर्षीय किसन विक र ३५ वर्षीय हरिसिंह थापा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले किसनलाई २९० मिलिग्राम र हरिलाई २६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।