
सुनसरी बारा र भक्तपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ३, कोल्पाकोट ओरालोस्थित सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ५, पिखेलका ७२ वर्षीया केकई मग्रराती मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
गाडीको ठक्करबाट सख्त घाइते भएकी उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका १८, बुद्धचोकमा दुर्गाचोकबाट घोपा क्याम्पतर्फ जाँदै गरेको प्र.१-०२-००३ ह ८७२९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका १६ बस्ने ५९ वर्षीय सुवास खड्काको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट सख्त घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाराको महागढीमाई नगरपालिका २, पत्रहट्टी मोडस्थित सडकमा ना.३त २९४८ नम्बरको ट्याक्टरमा मधेस प्रदेश ०३-०२६ प १५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका छन् । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा चढेका परिचय नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सख्त घाइते भएका उनको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चढेका अर्का एकजनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।