काठमाडौं, फागुन ३ :

देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका १६, बाट चरेसजस्तो देखिने पदार्थ ११ किलो ५ सय ग्रामसहित सर्लाही विष्णु गाउँपालिका ४, मधुवनगोठ बस्ने ४५ वर्षीय सुधीर कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट इनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको मिक्लाजुङ गाउँपालिका ९, भण्डारी चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७ सय क्याप्सुल र स्पास्पेन ७ सय क्याप्सुलसहित सोही गाउँपालिका ३ बस्ने झापा दमक नगरपालिका ३, बेलडाँगी घर भएका २० वर्षीय पवन विश्चकर्मासमेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले को.४प ४९०१ नम्बरको मोटरसाइकलमा यात्रारत उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ८, बुद्धचोकस्थित चन्द्रसूर्य होटेलबाट चरेसजस्तो देखिने पदार्थ करिब २० किलो र मोबाइल ७ थानसहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ बस्ने ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ र ४१ वर्षीय प्रेमलाल तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उक्त होटेल तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका ३ बाट चरेसजस्तो देखिने पदार्थ २ किलो ८ सय ६० ग्रामसहित बझाङ केदारस्युँ गाउँपालिका ७, भामचौर बस्ने ४६ वर्षीय घोडे धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।