काठमाडौं, फागुन ३ :

काठमाडौंको कमलपोखरीस्थित सान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका थप एक युवकको मृत्यु भएको छ । योसँगै सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि दुई युवकको मृत्यु भइसकेको थियो । पछिल्लोपटक उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता (एसपी) अपिलराज बोहोराले कीर्तिपुर अस्पतालमा उपचार भइरहेका तामाङको साढे २ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको जानकारी दिए ।

माघ २४ गते बिहान साढे ८ बजे भएको विस्फोटमा ११ जना घाइते भएकामा कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको मृत्यु भएको थियो । आठ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।