
काठमाडौंको न्युरोड घरहरुमा एकै प्रकारको रङ लगाइएको छ । पुरातन शैलीमा फर्काउन वडाको समन्वयमा न्युरोडका घरहरुमा रङ लगाइएको हो ।
केही समयअघि अस्तव्यस्त रहेको न्युरोडको मुख्य क्षेत्र अहिले सफा र चिटिक्क देखिएको छ । यहाँका घरमा एकैनासका अर्थात सेतो रङ लगाइएको छ ।
अब न्युरोडका सबै घरका भित्ता सेतो तथा झ्याल-ढोका र सटर हरियो रङका भएका छन् । जसले सहर सुन्दर देखिएको छ । लत्रिएका र झुन्डिएका तारलाई भूमिगत गरिएको छ । पैदलयात्रीका लागि फुटपाथ फराकिलो बनाइएको छ । जुद्ध शालिकदेखि इन्द्रचोकसम्म दायाँबायाँका घरहरुमा सेतो रङ लगाएर सहरलाई उज्यालो बनाइएको छ ।
काठमाडौं महानगरको समन्वयमा न्युरोड क्षेत्रलाई सौन्दर्यीकरण गरिएको हो । जसले न्युरोड क्षेत्र अहिले घुमौघुमौ लाग्ने भएको छ ।
यस्तै महानगरले दरबारमार्ग क्षेत्रको सडकपेटीमा ग्रेनाइट बिछ्याउन थालेको छ । महेन्द्र सालिक चोकदेखि नारायणहिटी दरबारनजिकको महानगर प्रहरी वृत्त क्षेत्रसम्म ग्रेनाइट बिछ्याइँदै छ । कालो रङको ग्रेनाइटले सडकपेटीलाई सुन्दर र चम्किलो देखाएको छ ।
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह निर्वाचित भएदेखि नै काठमाडौंको मुहार फेर्ने काम भइरहेको छ । बानेश्वर-माइतीघर सडकमा फूलसहितको गमला राखेर सहर सौन्दर्यीकरणमा जुटेको महानगरले सडकका पोलमा बत्ती बेरेर रातमा दुलही झैं देखिने बनाएको छ ।
प्रस्तुत छ एकैखाले रङले चिटिक्क पारिएको न्युरोड क्षेत्रका घरका थप तस्बिर :