काठमाडाैं, फागुन ४ :

सरकारले जारी गरेका अध्यादेशहरूलाई संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति जुटेको सत्तारुढ गठबन्धनले दाबी गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रमुख दलहरूबीच छलफलपछि सहमति बनेको गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

गृहमन्त्री लेखकका अनुसार, ‘अध्यादेश पास गर्ने प्रक्रिया अघि बढ्छ। सबै राजनीतिक दलहरूबीच यस विषयमा सहमति भएको छ।’उनले दलहरूबीच बहुमत पुग्नेगरी सहमति बनेको स्पष्ट गरे। 

भूमिबाहेकका पाँच अध्यादेश संसद्‍मा अगाडि बढाउने सहमति भएको छ । पाँच अध्यादेश अगाडि बढाउने सम्बन्धमा उपेन्द्र यादवसँग पनि फोन संवाद भएको बताइएको छ ।भूमिसम्बन्धी अध्यादेशका बारेमापछि छलफल गरौंला भन्ने सहमित भएको एक नेताले बताए ।भूमिसम्बन्धी अध्यादेशमा कार्यदल गठन गर्ने सहमति भएको छ । 

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो ।

 विपक्षी दलहरूरुले भने कुनै पनि हालतमा अध्यादेश पास हुन नदिने  र हुनै नसक्ने बताउँदै आएका छन् ।