काठमाडौं, फागुन ४ :

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरलाई आकाशमा उडाउन प्रयोग भएको ग्यास भरिएको बेलुनमा आगलागी हुँदा पौडेल र आचार्य घाइते भएका हुन् ।

बेलुनमा आगोको झिल्कोले टिपेपछि पौडेल र आचार्यको टाउकोमा त्यही ग्यास भरिएको बेलुन सकेको थियो । आचार्यको देब्रे गाला र कपाल डढेको छ भने पौडेलको कपाल डढेको छ ।

डिजिटल रुपमा स्विच थिचेर स्वचालित रुपमा पानसमा बत्ती बलेको थियो । सोहि बत्तीबाट आएको झिल्कोमा उडाउन ठिक्क पारिएको बेलुनमा आगो लागेको थियो ।

दुवै जनालाई थप उपचारका लागि अहिले हेलिकोप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।

अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीका अनुसार मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।