काठमाडाैं, फागुन ४ :

गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् ।

बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको छ ।  हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो।

आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।

गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।

पटक पटक गरे बन्धक रिहा गर्दा नेपाली विद्यार्थी विपिन जोशी परेका छैनन् । उनको रिहाईका लागि नेपालले चासो राख्दै आएको छ । हमासले रिहा गर्नेको सूचीमा सँधै नेपालको चासो रहने गरेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए ।