काठमाडाैं, फागुन ४ :

स्वास्थ्य मन्त्री प्रदीप पौडेल शनिबार बर्न अस्पताल पुगेर चिकित्सकसँग अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचारको अवस्था बारे जानकारी लिएका छन्। 

उनले उपचारमा कुनै कमी नगर्न र जलन पीडितहरूको उपचार प्रभावकारी बनाउनका लागि थप ध्यान दिन आग्रह गरे। मन्त्री पौडेलले उपचार सेवा विस्तार र सुधारको कामलाई तीव्र बनाइरहेको समेत बताए।

यस्तै गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।साथै उनले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरे। चिकित्सकहरूको कामको प्रशंसा गर्दै उनले उपचार राम्रो भइरहेको बताए

गृहमन्त्री लेखकले भविष्यमा यस्ता घटनाहरू रोक्नका लागि कडा व्यवस्था गर्ने बताए।स्वास्थ्य मन्त्री पौडेल र गृहमन्त्री लेखकले जलन पीडितहरूको उपचारमा प्राथमिकता दिने र सुरक्षा व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाए।

पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा शनिबार बेलुनमा आगो लागेर जलनका कारण उपप्रधानमन्त्री पौडेल र पोखरा महानगरपालिका प्रमुख आचार्य घाइते भएका थिए। दुवैको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ।

र यो पनि…

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार हुँदै