.jpg)
काठमाडौँ, फागुन ५ :
कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।
आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको हो । हाल सात जनाको उपचार भइरहेको उनले बताए ।
यसअघि उदयपुरको उदयपुरगढी- ७ घर भइ हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका- ५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका- ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो ।