काठमाडौँ, फागुन ५ :

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् ।

आज आयोजित पाँचौं ‘ल एसिया’ तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा राष्ट्रपति पौडेलले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने बताए । नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले  हामीलाई त्यस्तो समाज निर्माणका लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो । 

नेपालले लोकतन्त्र प्राप्तिका लागि लामो र कठिन यात्रा तय गरेको उनले उल्लेख गरे। राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्र्घषमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेको बताउँदै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनर्स्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको बताए ।

उनले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्गभेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतत्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य मानवलाई नभई नहुने अधिकार भएको बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तरराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण देश नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रा समुदायहरूमा गहिरो प्रभाव पर्न थालेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालमा  प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको बताए ।

उनले भने, “विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यी वातावरणीय प्रकोपका निर्दोष पीडित हौँ । यी अन्यायहरूलाई सम्बोधन गर्न र दिगो र समतामूलक भविष्यतर्फ काम गर्न हामीले ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त अभियानको अपेक्षा गरेका छौँ ।”