
तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालय
राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पौडेल र आचार्यको स्वास्थ्यबारे बुझ्न राष्ट्रपति आइतबार बिहान अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा परी आगोले जलेर घाइते भएका थिए । कीर्तिपुरस्थित वर्न अस्पतालको आईसीयूमा पौडेल र आचार्य शनिबार भर्ना भएका हुन् ।