काठमाडौं, फागुन ५ :

पोखरामा शनिबार भएको बेलुन विस्फोट घटनाको विषयमा छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य-सचिव रहेका छन् । साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत हुनेछन् ।

समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको छानबिन थालेको छ । गृह मन्त्रालयले आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिएको छ ।

शनिबार ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्‍घाटन समारोहमा बेलुख विष्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका थिए ।