काठमाडौं, फागुन ५ :

देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ११, डोके बजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका ५, हसनपुर बस्ने २३ वर्षीय अशोक पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका ४, टाघनडुब्बाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ६२ मिलिग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका ८ बस्ने २४ वर्षीय दिपिन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका ११, बगानबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ७२० मिलिग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बस्ने २९ वर्षीय मनीष प्रधान र ४० वर्षीय विरेन उराउँ छन् । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिका २, इन्द्रायणी बस्तीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट र स्टागन ५० ट्याब्लेटसहित सोही नगरपालिका २, देउला टोल बस्ने २७ वर्षीय दिनेश देउलालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका ४, बेनिटारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १०५ क्याप्सुलसहित मंगला गाउँपालिका २ बस्ने २० वर्षीय अभिषेक खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ९५१७ नम्बरको बसमा यात्रारत उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।