काठमाडौं, फागुन ५ :

ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बिमा सेवा पुर्‍याउने लक्ष्य लिई यस ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले ०८० मंसिर १२ गते निर्जीवन लघु बिमाको इजाजतपत्र प्राप्त गरेको हो । त्ससपछि कम्पनीले लघु निर्जीवन बिमा कम्पनीको हैसियतले २०८० चैत १ गतेबाट लघु निर्जीवन बिमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ ।

सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।