
लमजुङको मर्स्याङ्दी गाउँपालिका भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । विद्युत् उत्पादन बन्द गरेर मर्मत कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकारी कर्ण अधिकारीले बताए ।
विद्युत गृहमा टर्बाइन मर्मतदेखि अन्य कामहरू चिनियाँ विशेषज्ञ इन्जिनियरसहित प्राविधिक टिमले काम गरिरहेको छ । बालुवाका कणहरू झिकेर मर्मत कार्य भइरहेको छ । आयोजनाका अनुसार यो बर्सेनि गर्ने नियमित मर्मत हो । त्यस आयोजनाबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत चिनियाँ लगानीबाट नेपालमा पहिलो पटक निर्मित जलविद्युत् आयोजना हो । आयोजना स्रोतका अनुसार दैनिक १० लाख युनिट बढी विद्युत् उत्पादन हुने उक्त आयोजना १ घण्टामात्रै बन्द हुँदा ५ लाख घाटा पर्छ । मर्मतका लागि कम्तीमा ३ महिना लाग्ने भए पनि विद्युत् उत्पादन बन्द गर्न नपर्ने आयोजनाले जनाएको छ ।