काठमाडौँ, भदौ ३ :

संघीय संसदका विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण सम्बन्धमा छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका सम्बन्ध र नेपालमा ईआएए र आईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।