सुनसरी, फागुन ६ :

सुनसरीको दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

दुहबी नगरपालिका ८, हुलास फ्याक्ट्रीअगाडि सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को.१ख ७०२३ नम्बरको बसले प्र.१-०२-०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा चढेकी इटहरी उपमहानगरपालिका ५ की ५० वर्षीया चिनीमाया बुढाथोकीको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते चिनीमायाको विराट मेडिकल कलेज टिचिङ अस्पताल बूढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।