
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस गर्दै होस्टेल फर्कन ८ बुँदे सर्त अघि सारेका छन् ।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युको विषयलाई लिएर गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीलाई कलेज प्रशासनले होस्टेलबाटै निकाल्नेसम्मको हर्कत गरेपछि उनीहरुले असुरक्षित महसुस गरेका हुन् ।
घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेको उनीहरुको गुनासो छ ।
चौतर्फी विरोध भएपछि कलेज प्रशासनले निकालिका विद्यार्थीलाई फिर्ता बोलाए पनि उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे सर्तहरु अघि सारेका छन् ।
यस्ता छन् सर्त :
१. घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।
२. होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ ।
४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ ।
५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने ।
६. फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने ।
७. होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।
८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । कलेजले जारी गरेको प्रेस विज्ञप्ति झूटो भएको स्वीकार गर्दै वास्तविकतालाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।
बुटवल निवासी लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए ।
भारतमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर नेपालमा पनि प्रदर्शन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली लगायतका राजनीतिक दलका नेताहरुले पनि चासो व्यक्त गर्दै नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति दिलाउन, कलेज फर्किन र कक्षा सुरु गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।